पीसीआर ल्याब स्थापना अनिश्चित, सञ्चालन गर्न राजनीतिक दलको माग

सेयर गर्नुहोस्

झापा, साउन ९
सरकारले अनुमति नदिदा झापामा सामुदायिक स्तरबाट स्थापना गर्न पीसिआर ल्याब सन्चालनमा नआउने भएको छ । कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्यावलाई अनुमति दिन नसकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयको यो निर्णयसंगै सर्वसाधारणको सहयोगबाट बन्न लागेको प्रयोगशाला स्थापनाको विषय संकट परेको छ । झापाको कनकाई नगरपालिकास्थित कन्काई नदी किनार कोटीहोममा रहेको समर्पण भवनमा बन्ने भनिएको कोरोना भाइरस परीक्षणको पिसिआर ल्याब नबन्दै संकटमा परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आतपकालिन तथा विपद व्यवस्थापन इकाईले मन्त्री भानुभक्त ढकालको उपस्थितिमा उक्त भवनमा बन्ने भनिएको पिसिआर ल्यावलाई अनुमति दिन नसकिने निर्णय गरेको छ ।
गत असार १० गते मेची अस्पतालमा पिसिआर ल्याव स्थापना गर्ने संघीय सरकारको निर्णय अनुसार उक्त अस्पतालमा मात्र ल्याव सञ्चालन गर्न संघीय मन्त्रालयले स्पस्ट पारेको छ । इकाईका प्रमुख डा. समिरकुमार अधिकारीले जहाँ पायो त्यही पिसिआर ल्याव स्थापना गर्न नहुने भन्दै संघीय मन्त्रालयले आवश्यता हेरेर ल्याव स्थापनाको स्वीकृती दिएको बताए ।
उनले भने, ‘उहाँहरूले पिसिआर मेसिन खरिद गरिसकेको भए मेची अस्पताललाई दिए भइ गयो नि, त्यो चाहिँ जनताको सम्पत्ति होइन र ।’
स्वास्थ्य आतपकालिन तथा विपद व्यवस्थापन इकाईले बुधबार मेची अस्पतालाई ल्याव स्थापनाको प्रगतिबारे लेखेर पठाउन पत्राचार गरेको छ । अस्पतालले भने साउन महिनाको मध्यबाट पिसिआर परीक्षण सुरु गर्ने व्यहोराको पत्र बिहीबार पठाउने तयारी गरेको छ ।
झापामा सञ्चालित एकका लागि एक अभियान अन्तर्गत सर्वसाधारण तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले आर्थिक सहयोग गरेका छन्। जस अन्तर्गत एक करोड २० लाख भन्दा बढी रुपैयाँ संकलन भइसकेको छ । पिसिआर मेसिन आयात गरेर प्रयोगशाला निर्माणका लागि काम पनि सुरु भइसकेको छ ।

अभियानका संयोजक महेन्द्र गिरीका अनुसार कोटीहोममा स्थापना गर्न लागिएको प्रयोगशाला सरकारले नै सञ्चालन गर्ने बताएका छन् । उनले भने, ‘हामीले भौतिक पूर्वाधार निर्माण गरेर सरकारलाई नै जिम्मा लगाउने हो ।’
चलाउन दिन माग
पिसिआर ल्याब सञ्चालन गर्न झापाका राजनीतिक दलले सरकारसँग माग गरेका छन् । सरकार, सहकारी र समुदायको सहकार्यमा स्थापना गर्न लागिएको पिसिआर ल्याब यही साउन १० गतेभित्र परीक्षणका लागि तयार हुँदैछ । ल्याब प्रदेश सरकारअन्तर्गत मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी सञ्चालन अनुमतिको पर्खाइमा छ । अभियानले ल्याब तयार पारिसकेपछि सरकारलाई हस्तान्तरण गर्नेछ ।
ल्याबका लागि आवश्यक पिसिआर मेसिन, वायोसफ्टी क्याबिनेट, माइनस ८० डिग्रीका फ्रिज, सेन्ट्रिफुगल, आवश्यक किट तथा अन्य सामग्री समर्पण भवनमा आइसकेको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । पिपिइलगायत थप किट प्रदेश सरकारले परीक्षण सुरु भएपछि व्यवस्थापन गर्ने बताइएको छ ।
ल्याब स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५–२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् । ल्याब स्थापनाका लागि अभियानले १ करोड २० लाख रुपैयाँ संकलन गरिसकेको छ ।
प्रदेश १ मा संकलन भइरहेको ¥यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो । अब झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र पूर्वोत्तर मोरङबाट संकलित नमुना परीक्षणमा सहज हुनेछ ।