स्थायी कमिटी भित्र तरङ्ग, नेताले धमाधम गुट परिवर्तन गर्दै (नामावली सहित)

सेयर गर्नुहोस्

काठमाण्डाै, साउन १३

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक समीकरण बेलाबेलामा परिवर्तन भए पनि पूर्व समूहप्रति नेताहरु प्रतिवद्ध देखिएका छन् । केही नेताले भने पूर्व समूह परिवर्तन गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक स्थगित गरे पनि उनको अनुपस्थितिमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बहुमत सदस्यले बैठक सञ्चालन गरेका छन् ।

सबैजना नेताहरु समूहप्रति प्रतिवद्ध नभए पनि एजेण्डा र आफ्नो अनुकुलतामा कुनै एक समूहमा लाग्ने गरेका छन् । समूहमा पनि उपसमूह देखिने गरेको छ ।

नेकपामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता माधव कुमार नेपालका मुख्य तीन समूह सक्रिय छन् । यी समूहमा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले आफूलाई एजेण्डा अनुसार प्रस्तुत गर्छन् ।

४५ सदस्यीय नेकपाको स्थायी कमिटीका नेताहरु मुख्य तीनवटा समूहमा सक्रिय छन् । प्रचण्ड निकट सभामुख अग्नि प्रसाद सापकोटा सभामुख भएपछि एक स्थान खाली छ । हरेक संरचनामा जस्तै तीन मध्ये दुईवटा गुट एक ठाउँ हुँदा अर्को गुट रक्षात्मक अवस्थामा पुग्छ ।

आजको बैठकमा सहभागी नेताहरु

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, स्थायी कमिटी सदस्यहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गिरिराजमणी पोखरेल, वर्षमान पुन, पम्फा भुषाल, देव गुरुङ, घनश्याम भुषाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र जनार्दन शर्मा सहभागी भए ।

त्यस्तै, हरिबोल गजुरेल, भीम आचार्य, गोकर्ण विष्ट, लीलामणि पोखरेल, देवेन्द्र पौडेल, रघुजी पन्त, बेदुराम भुषाल, मुकुन्द न्यौपाने, गणेश साह, मातृका यादव, शक्ति बस्नेत, चक्रपाणि खनाल र रघुवीर महासेठ सहभागी थिए । अन्य दुईजना आमन्त्रित सदस्य पनि बैठकमा सहभागी भएका पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा सहभागी नहुने नेताहरु

बैठकमा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट सहभागी भएनन् ।

गृहमन्त्री थापा प्रदेशका मन्त्रीहरुसँगको छलफल भन्दै बैठकमा सहभागी भएनन् । रायमाझी र भट्ट कुनै पनि गुटमा सहभागी नहुने बताउँदै बालुवाटार पुगेनन् । मणि थापाले भने आफू प्रधानमन्त्री ओलीको पक्षमा रहेको बताएका छन् ।