झापा भाद्र ८,
झापामा पछिल्लो समय सुरक्षाकर्मीलाई समेत कोरोना संक्रमण देखा पर्न थाले पछि छुट्टै ड्यूटी समूह र आवासको व्यवस्थापन थालिएको छ । बाहिरबाट आएका र संक्रमण देखा परेकालाई छुट्टै राख्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले बताउनु भयो ।
जिल्लाको कार्यालय परिसर भित्र रहेका ३ भवनलाई क्वारेन्टाइन र एउटा भवनलाई आइसोलेशन घरको रुपमा प्रयोग गरिएको छ । आवश्यक पर्न सक्ने भन्दै टेन्ट घर समेत निर्माण गरिएको छ । अन्य जिल्लाबाट सरुवा भएका, घर गई आएका र संक्रमित क्षेत्रमा खटिएका प्रहरीलाई छुट्टै र समूह समूह बनाएर राख्ने र ड्यूटी गर्ने गरी जिल्लाका विभिन्न प्रहरी कार्यालयमा व्यवस्थापन गरिएको छ ।
पछिल्लो समय झापामा समूदायमा भाइरस देखा पर्न थाले पछि सुरक्षामा समेत थप जोखिम बढेको छ । तथापि त्यस्तो उच्च जोखिम भने नरहेको झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भयो । जिल्लामा हालसम्म साढे ३ दर्जन हाराहारीमा सुरक्षाकर्मीमा कोरोना संक्रमण भइसकेको छ । तर पनि सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएर भए पनि आफूहरु सुरक्षामा खटिएको उनीहरुले बताएका छन् ।