दमक, साउन १( पूर्व न्युज)
झापामा बाढीको प्रकोपबाट पाँच जनाको मृत्यु भएको छ । उनीहरुका परिवारलाई जिल्ला प्रशासन कार्यालयले जनही १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
बाढीको प्रकोपबाट गत वैशाख २० गते अर्जुनधारा नगरपालिका २ सातकटेरीका ६५ वर्षीय दुर्गाबहादुर खपाङ्गी, असार १० गते बाह्रदशी गाउँपालिका ६ रुपचनबाडीकी १८ वर्षीया अनुसा टुडु, शिवसतासी ८ का ३ वर्षीय सम्यम विष्ट, असार २० गते कमल गाउँपालिका ५ का ३४ वर्षीय पुष्प राई र असार २७ गते झापा गाउँपालिका ५ का राजेश गणेशको मृत्यु भएको थियो । मृत्यु भएका पाँच जनाको परिवारलाई जिल्ला विपद् व्यवस्थापन राहत कोषबाट प्रति परिवार एक लाख प्रदान गर्ने निणर्य गरेको छ । तीन महिनायता नदीमा बगेर र खाल्डोमा डुबेर मृत्यु हुने पाँच जनाको परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निणर्य गरेको हो ।
उनीहरु सबैको परिवारलाई राहतका लागि प्रदेश नम्बर १ को सरकारलाई पनि सिफारिस गरिने सहायक प्रमुख जिल्ला अधिकारी जनक पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट समेत प्रति परिवार एक लाखको दरले राहत दिइने व्यवस्था छ ।
१ श्रावण २०७७, बिहीबार १२:०३