काेशी काेभिड अस्पतालः न आईसीयू, भेन्टिलेटर समेत थन्कियाे

सेयर गर्नुहोस्

विराटनगर, भदाै १

कोरोना महामारी त्रास सुरु भएको अवस्थामा डेडिकेडेट अस्पताल बनाउन सुरु गरेको १ नम्बर प्रदेश सरकारले नेपालमा दोस्रो संक्रमित भेटिँदा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र निर्माण गर्याे ।

चैत तेस्रो साता प्रदेश सरकारले उद्घाटन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २४५ जना उपचारपछि घर फर्किएका छन् । अस्पतालबाट डिस्चार्ज भएकामा कोरोनाको गम्भीर लक्षण थिएन । ५५ जना अस्पतालमा छन् ।

नेशनल ट्रेडिङको पुरानो भवनलाई प्रदेश सरकारले मर्मत गरी आइसोलेसन केन्द्र बनाएको हो । तर आइसोलेसन केन्द्रमा न त भेन्टिलेटर छ, न त आईसीयू नै । बिरामीलाई अक्सिजन दिनै समस्या छ ।

उद्घाटनका क्रममा प्रदेश सरकारले २० वटा आईसीयू सञ्चालन गर्ने बताएको थियो । पछिल्लो समय १० वटा आईसीयू बेड बनाउने भनिए पनि सञ्चालनमा छैन ।

गम्भीर प्रकृतिका संक्रमितलाई उपचार गर्न तत्कालै दुईवटा भेन्टिलेटर जडान गर्ने सरकारको योजना थियो । सोही बेला गोल्डेन अस्पताल र न्यूरो अस्पतालबाट दुईवटा भेन्टिलेटर मेसिन लगेको थियो । दाताले थप चारवटा मेसिन उपलब्ध गराएका छन् ।

बिरामीको उपचारमा प्रयोग गर्न भन्दै उपलब्ध गराएको भेन्टिलेटर गोदाममा थन्किएको छ । कोरोना संक्रमित विराटनगर–३ का सीताराम दाहालको अक्सिजन अभावमा मृत्यु भएपछि बल्ल प्रदेश सरकारले मेसिन जडानको तयारी थालेको छ ।

मेयर भन्छन् : भेन्टिलेटर जडान गरिदेऊ

विराटनगरका मेयर भीम पराजुली लक्षणसहितका संक्रमति देखिए पनि प्रदेश सरकारले भेन्टिलेटर जडान नगरेको गुनासो गर्छन् । उनले तत्काल भेन्टिलेटर जडान गरेर जनताको जीवनरक्षा गर्न आग्रह गरे ।

‘सरकारले चाँडो भेन्टिलेटर जडान गरिदियोस्,’ उनले भने, ‘हामी आवश्यक सहयोग गर्न तयार छौं ।’ भेन्टिलेटर अभावमा संक्रमितले ज्यान गुमाउन थालेको बताउँदै उनले संक्रमितको व्यवस्थापन र उपचारमा प्रदेश सरकारले पहल थाल्नुपर्ने बताए ।

दक्ष जनशक्ति नहुँदा काम गर्न गाह्रो

कोरोना अस्प्तालमा आईसीयू सञ्चालनको तयारी गरिए पनि तत्काल जनशक्ति अभाव छ । पछिल्लो समयमा अस्पतालमा खटिएका स्वास्थ्यकर्मीले बेलाबेला मात्र बिरामीको रिपोर्टिङ गर्छन् । तर आईसीयू सुरु हुँदा संक्रमितलाई हेरचाह गर्न २४ सै घण्टा नर्सिङ केयर आवश्यक हुन्छ ।

आईसीयूमा काम गर्नेले सामान्य अवस्थाको भन्दा छुट्टै तालिम लिएको हुनु पर्छ । तर कोशी अस्पतालमा दक्ष जनशक्ति नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । ‘हाम्रो योजना चाँडोभन्दा चाँडो आईसीयू सुरु गर्ने हो,’ उनले भने, ‘तर जनशक्ति हामीसँग छैन । जनशक्ति नहुँदा काम गर्न गाह्रो हुन्छ ।’

काम अघि बढिसक्यो : मन्त्री घिमिरे

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरे भेन्टिलेटर र आईसीयूको काम सुरु भएको बताउँछन् । आईसीयू र भेन्टिलेटर सुरु गर्दा एक महिनामा १०५ जनशक्ति लाग्ने बताउँदै उनले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक र नर्सलाई तालिम दिने तयारी भइरहेको बताए । ‘आईसीयूमा खटिने छुट्टै जनशक्ति चाहिन्छ ।’ उनले भने, ‘जनशक्ति तयार गर्न २० जना नर्स र १० जना डाक्टरलाई एक साताको तालिम दिने तयारी छ ।’

लक्षणसहितका संक्रमित देखिन थालेकाले उपचारका लागि प्रदेश सरकारले आइसोलेसन केन्द्र थप गर्ने तयारी गरिरहेको बताए ।