काेभिड अस्पताल- न भेन्टिलेटर, न त अक्सिजन

सेयर गर्नुहोस्

 विराटनर, साउन २९

प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गर्न विराटनगरमा निर्माण गरेको कोसी कोभिड–१९ अस्पताल स्रोत साधनको अभावमा राम्ररी सञ्चालन हुन सकेको छैन । एउटा अस्पतालका लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य उपकरण नहुँदा बिरामीहरुको उपचारमा समस्या हुने गरेको छ ।

प्रदेश सरकारले नेपालमा कोरोना भाइरस देखिए लगतै चैत्र ९ गते निर्णय गरेर १० दिनमा ५० सैय्याको अस्पताल बनाएको पत्रकार सम्मेलन गरेरै जानकारी दिएको थियो । कोभिड १९ अस्पताल चैत्र २१ गते मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । अस्पताल उद्घाटन भएको पाँच महिना पुरा भइसक्दा पनि अस्पतालमा न्यूनतम आवश्यक वस्तुको अभाव देखिएपछि चिकित्सकहरु नै निराश हुन थालेका छन् ।

बुधबार कोसी कोभिड अस्पतालका संयोजक डा. डेन आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेर अस्पताल बिरामीको उपचारका लागि बनेको नबनेको हो कि भन्ने गुनासोयुक्त सन्देश लेखे र। ‘हामीले बाटो बनायौं तर सोच्यौं हामी हिड्ने छैनौं, अस्पताल बनायौं तर सोच्यौं हामी उपचार गराउने होइनौं ,’ डा. डेन आचार्य लेख्छन्, ‘र त आज म मेरो अस्पतालमा बीना अक्सिजन लडिरहेछु ।’ कोभिड अस्पताल स्थापना कालदेखि बढो मिहेनत र जिम्मेवारीपूर्वक काम गरिरहेको एउटा चिकित्सकको यो भनाईले सहजै बुझ्न सकिन्छ कि अस्पताल वास्तवमा अस्पताल जस्तो छैन । किन भने त्यहाँ स्वासप्रस्वासको समस्या लिएर आउने कोभिडका बिरामीलाई दिनका लागि अक्सिजन पनि छैन । अक्सिजनको ३० वटा सिलिण्डर भएपनि कयौं दिनसम्म खाली सिलिण्डर भरिएर आउँदैन र अक्सिजनको अभावमै अस्पताल चलाउनु पर्ने वाध्यता छ । अक्सिजन दिन कन्सल्ट्रेसन त छ तर स्वासप्रस्वासमा समस्या भइसकेका बिरामीलाई त्यसले पुग्दैन । एउटा सिलिण्डर खाली भएपछि अर्को जडान गर्न झण्डै एक घण्टा समय लाग्छ जुन बिरामीको स्वास्थ्यका लागि सामान्य विषय होइन । अस्पतालमा ‘हाई ब्लो’ अक्सिजन जरुरी छ तर सरकारले अहिलेसम्म त्यसको प्रवन्ध गरिदिएको छैन । संयोजक डा. डेन आचार्य यही अवस्थालाई सुधार गर्ने प्रयत्नमा थिए । उनले लामो समयदेखि अक्सिजनको पाइपलाईनलाई व्यवस्थित गर्न पहल गरिरहनुभएको थियो तर प्रयत्न सफल हुन सकेन ।

बुधबार पहिलो पल्ट कोभिड १९ अस्पताल विराटनगरमा नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भयो । साउन २६ गते अस्पताल भर्ना भएकै दिन उहाँको रगतमा ८४ प्रतिशत मात्र अक्सिजनको मात्रा देखिएको थियो । उहाँलाई अक्सिजन त दिइएको थियो तर प्रयाप्त थिएन । अस्पतालमा छ वटा भेन्टिलेटर त थिए तर कुनै पनि भेन्टिलेटर चालु गरिएका छैनन् । त्यसलाई सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम औषधि, प्राविधिक आदिको प्रवन्ध भएको थिएन । जसले गर्दा बिरामीमा थोरै समस्या देखिनासाथ धरान रेफर गर्नुपर्ने वाध्यतामा कोभिड अस्पताल थियो ।
कोभिड अस्पतालका संयोजक डा. आचार्यको फेसबुक स्टाटस त्यो बेलामा आयो जतिबेला अस्पतालमा बिरामीको मृत्यु भयो । स्रोत साधनको अभाव नभएको भए बिरामीको उपचारमा थप मिहेनत गर्न सकिन्थ्यो भन्ने उहँँको आशय देखिन्छ ।

संयोजक आचार्यले बुधबार पहिलो पटक गुनासो सार्वजनिक गरेका हाेइनन । त्यसको ठिक पाँच दिन अघि पनि उहाँले लामो स्टाटस लेखेर विराटनगरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले अवस्था गम्भीर बनेको तर अस्पतालको पूर्व तयारी कमजोर रहेको सार्वजनिक गरेका थिए । कोरोना भाइरस समुदायमा फैलिसकेको र नियन्त्रण गर्न गाह्रो हुने भन्दै उनले स्रोत साधनको अभावमा काम गर्न नसकिने भन्दै डा. डेन आचार्यले फेसबुक स्टाटसकै माध्यमबाट संयोजकको भूमिका छोडेको सार्वजनिक गरे । त्यसपछि उनीअस्पताल गएनन । तर अस्पताल स्रोतले भने उहाँको पारिवारिक कारणले गर्दा अस्पतालमा उपस्थित नभएपनि कुशल व्यवस्थापनका लागि निरन्तर प्रयत्नशिल थिए ।

कोसी कोभिड–१९ अस्पताल यस कारणले पनि अस्पताल जस्तो छैन कि त्यहाँ आइसोलेसन कक्षमात्र छन् । लक्षण देखिएका बिरामीको उपचार गर्न आइसियु सञ्चालनमा छैन । भेन्टिलेटर सञ्चालनका लागि आवश्यक पर्ने अक्सिजन, एनेस्थेसिया, अन्य औषधि र जनशक्ति पनि प्रवन्ध गरिएको छैन । अनि त्यहाँ काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन पनि छैन । जसले कोभिड अस्पताल प्रभावकारी रुपमा चलेको छैन ।

अहिले अस्पतालमा सिंगल म्यानिफोल्डका सिलिण्डरहरु छन् । जुन एक घण्टा मात्र चल्छ । त्यसबाट मेन्टिलेटर सञ्चालन गर्न सम्भव हुँदैन भएपनि निरन्तरता दिन गाह्रो पर्छ । कमसेकम पनि डबल म्यानिलोल्डको हुँदा ५ घण्टासम्म चल्ने हुन्छ जसको प्रवन्धले केही सहज हुने डा. दिपक सिग्देल बताए ।‘सबै बिरामीलाई भेन्टिलेटरमा राख्नु पर्छ भन्ने होइन, जसको अवस्था भेन्टिलेटरमा राखेरै उपचार गर्नुपर्ने हुन्छ उसलाई राख्नुपर्छ,’ डा. सिग्देलले भने, ‘त्यसका लागि अस्पतालमा न्यूनतम स्रोत साधन अद्यावधिक हुनुपर्छ भनेर हामीले भनिरहेका छौं ।’

कोशी कोभिड अस्पतालमा ६ थान भेन्टिलेटर राखियो तर यतिन्जेल सञ्चालनमा आएन । अस्पतालका प्राविधिकहरुले पटक पटक सरकारलाई आइसियु र भेन्टिलेटर सञ्चालन गर्नका लागि आावश्यक पर्ने स्रोत र साधनहरुको बारेमा सरकारलाई जानकारी गराए । तर सरकारले त्यसका लागि गम्भीरता पूर्वक पहल गरेन । अहिले अस्पतालमा बिरामीहरुको चाप बढेको छ । लक्षण देखिएका बिरामी र नदेखिएका बिरामीहरु कोभिड अस्पतालमा छन् । जसले गर्दा उपचारमा पनि बाधा पुगेको छ ।

कोभिडमा कसलाई राख्ने ?

केही समय अघि कोभिड –१९ अस्पताल विराटनगरमा एउटा अचम्मको दृश्य देखापर्यो । लक्षण देखिएका संक्रमितलाई जब अस्पताल लगियो त्यहाँ आइसोलेसनमा बसेका संक्रमितहरुले अस्पतालको ढोका बन्द गरिदिए । अस्पतालमा बसेकाहरुमा लक्षण थिएन । उनीहरुले लक्षण भएका बिरामीलाई अस्पताल प्रवेश गर्नै दिएनन् । यस घटनाले अस्पतालमा कसलाई राख्ने भनेर सोच्न बाध्य भएको चिकित्सकहरुले बताएका छन् । कोभिड अस्पतालमा एक जना चिकित्सकले भन्नुभयो ‘कोभिडमा लक्षण भएका र अझ गम्भीर बिरामीहरुले उपचार पाउनुपर्छ, तर हाम्रोमा लक्षण नभएकाहरुले अस्पताल भरिएको छ लक्षण भएकाहरु अस्पताल आउनै नपाउने गम्भीर अवस्था छ जुन हुनुहुँदैन ।’