आइसोलेशन बनाउन प्रदेश सरकारद्वारा १ करोड ६० लाख निकासा

सेयर गर्नुहोस्

विराटनगर, साउन २९
प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ ।

प्रदेश सरकारले आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम उपलब्ध गराएको हो । सरकारले ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउन बजेट उपलब्ध गराएको सरकारले जनाएको छ । थप आइसोलेशन बेडहरुको व्यवस्था गर्न प्रदेश स्तरिय सिसिएमसी बैठकले केही दिनअघि निर्णय गरेको थियो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनको लागि महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ ।

यस्तै, रंगेली नगरपालिका वडा नं ७ स्थित श्रीजनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेशन बनाउन रंगेली नगरपालिकालाई १५ लाख दिएको छ । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित वि. जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख दिएको छ भने बराहक्षेत्र नगरपालिका स्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा १०० बेड क्षमताको आइसोलेशनको लागि १५ लाख उपलब्ध गराएको छ । यस्तै, सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

यसैगरि, प्रदेश नं १ का ताप्लेजुङ्ग, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ । कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङ्गलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन संचालनका लागि उपलब्ध गराएको छ । त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच–पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।

Leave a Reply

Your email address will not be published.